धमकेदार कमब्याकपछि कमजोर देखिए यी नायक



काठमाडौं । कलाकारिता क्षेत्र एक यस्तो क्षेत्र हो जुन क्षेत्रमा चम्किन र गुमनाम हुन बेर लाग्दैन् । कलाकारहरुको चर्चा र गुमनाम हुने क्रम चलिनै रहन्छ । हामी यहाँ नाम, कामका हिसाबले राम्रो हुँदाहुँदै पनि आफ्नो चलचित्र यात्रालाई केही समयका लागि टाढा राख्दै पछि फेरि कमव्याक गरेका नेपाली नायकहरुको चर्चा गर्न खोजेका हौं ।

पछिल्ला केही वर्षयता चलचित्र क्षेत्रमा नायकहरुको कमब्याक धमकेदार रुपमा भयो । कमब्याक गर्ने नायकहरुको चर्चा चलचित्र शुभारम्भ, छायाँकन, रिलिज मितिसम्म त राम्रै चल्यो । केहीले अलि पछिसम्म पनि चर्चा पाए, अन्य चलचित्रमा पनि ब्यस्त रहे तर अधिकांश भने कमब्याकपछि गुमनाम बन्न पुगे ।

नायक निखिल उप्रेती पाँच वर्ष बढीको अन्तरपछि आफ्नै निर्देशनमा ‘भैरव’ चलचित्रमार्फत कमब्याक गरे । निखिलको कमब्याक धमकेदार नै रह्यो । चलचित्र रुचाईयो अनि चल्यो । त्यसले निखिललाई पनि फाइदा पुर्योयो । उनि एकाएक अन्य चलचित्रमा ब्यस्त बन्दै गए । एक्सनमा राम्रो छाप छाडेर मुम्बई गएका निखिलको कमब्याकपछिको अर्को चलचित्र ‘लुटेरा’सम्म आईपुग्दा पनि क्रेज कम देखिएन् । उनि लगालग चलचित्र खेल्दै गए । त्यसपछिका प्राय चलचित्र भने असफल रहे । उनको हातमा अहिले कुनै चलचित्र छैन् । आफैले ‘कमिटमेन्ट ६० आवर्स’ को छायाँकन शुरु गरेपनि विवादको कारण चलचित्र बिचमै रोकिन पुगेको छ ।

यता नायक विराज भट्टको पनि कमब्याकले राम्रै चर्चा पायो । विराज नेपाली चलचित्रमा चलिरहेको समयमा भोजपुरी चलचित्रमा प्रवेश गरेका थिए । लामो समयको ग्यापपछि उनि पुनः नेपाली चलचित्रमा फर्किए –चलचित्र ‘जय पर्शुराम’मार्फत । कुनै बेलाका चलेका यी नायकको कमब्याक खराब भईदियो । यो चलचित्र असफल भएपछि चलचित्र क्षेत्रमा फेरि राज गर्ने विराजको सपना सपनै रह्यो । त्यसपछि विराज अन्य चलचित्रमा देखिएका छैनन् ।

नायक रमेश उप्रेती चलचित्र ‘ब्रासलेट’मार्फत पर्दामा कमब्याक गरे । रमेशको कमब्याकलाई लिएर चलचित्र क्षेत्र राम्रैसंग गर्मीयो पनि । त्यो गर्माइ केही समय बढ्दै गयो । कारण उनले आफ्नै निर्माणमा ‘ऐश्वर्य’ बनाए । चलचित्रले राम्रै चर्चा पनि पायो । चलचित्र चल्यो पनि । चलचित्र सफल भएपछि नेपाली चलचित्रमा रमेशको व्यस्तता बढने सबैको अनुमान थियो तर त्यसो भएन् । ‘ऐश्वर्य’ प्रदर्शनमा आएको एक वर्ष भईसक्दा रमेश अन्य चलचित्रमा देखिएका छैनन् ।

महानायक राजेश हमाल केही वर्षको ग्यापपछि ‘वागमती’मार्फत दर्शकमाझ आए । प्रदर्शनअघि विविध कारण राम्रो चर्चा पाएको चलचित्र जब प्रदर्शनमा आयो । चौतर्फी नकारात्मक टिप्पणी भयो । त्यसपछि पनि राजेश अर्को एक चलचित्रमा अभिनय गरे, त्यो थियोे –‘सकुन्तला’ । त्यो चलचित्र पनि असफल भएसंगै राजेश चलचित्रबाट टाढा छन् ।

यता नायक शिव श्रेष्ठ, दिलीप रायमाझी पनि लामो समयपछि चलचित्रमा देखिएका थिए तर उनिहरुको चलचित्र पनि चलेनन् । अब यी कलाकारहरुलाई पुरानै स्टारडम फर्काउनु भनेको फलामको चिउरा चपाउनु सरह नै देखिने विश्लेषकहरु बताउँछन् ।