अभिनेत्री लारा दत्त पुन: चलचित्रमा फर्किन



सेलीब्रेटी नेपाल माघ १८ गते- अभिनेत्री लारा दत्त पुन: चलचित्र अभिनयमा देखिने भएकी छन् । छोरीको जन्मपछि अभिनयबाट केही समय टाढा रहेकी लारा फेरि अभिनयमा आउन लागेकी हुन् । एक वर्षदेखि उनी आमा बनेकै कारण अभिनयबाट केही समयका लागि भन्दै टाढा रहेकी थिइन् । आमा बन्नुअघि बलिउडमा अभिनय र ग्ल्यामर दुवैका कारण हंगामा मच्चाउन सफल लारा बलिउडमा फेरि धुम मच्चाउने तयारीमा छिन् ।
एक वर्षको अन्तरालपछि उनले निर्देशक विजय नम बियरको दुई भाषामा निर्माण हुने थ्रिलर चलचित्रबाट पुन: अभिनय सुरु गर्दै छिन् । छोरीको जन्मसँगै अभिनयबाट टाढा रहेकी लारा छोरीको पहिलो जन्मदिन मनाउँदै अभिनयमा फर्कन लागेकी हुन् ।
आमा बनेर बच्चाको स्याहार–सुसारमै एक वर्ष बिताएकी लाराले आफूले बच्चासँग बिताएको यो समय निकै महत्त्वपूर्ण भएको बताएकी छन् । अहिले आफ्ना लागि परिवार र अभिनय दुवै महत्त्वपूर्ण भएकाले दुवैलाई ब्यालेन्समा लैजान आफू सक्षमसमेत रहेको उनले बताइन् ।