असफलताको बेगमा आर्यन र सृष्टि, चल्ला त तेस्रो चलचित्र ?


सेलिब्रेटी नेपाल
काठमाडौँ ।
‘गाजलु’ डेब्यु अभिनेत्री सृष्टि श्रेष्ठ र ‘के म तिम्रो होइन र’ डेब्यु अभिनेता आर्यन अधिकारीका लागि अहिले समय राम्रो गैरहेको छैन । तर, यी अभिनित तेस्रो चलचित्र ‘बाँध मायाले’ प्रदर्शनको संघारमा छ ।

सृष्टिको पहिलो चलचित्र सामान्य हिट भएपनि यसको जस उनले पाउन सकिनन् । ‘गाजलु’ अनमोलको करिअरका लागि मात्र फाइदाजनक रह्यो । दुई वर्षको अन्तरालमा सृष्टि मूना बनेर दर्शक माँझ पुगिन । न रोमियो हिट भए नत मूनानै । सृष्टिको दोस्रो चलचित्र असफल भैदिदा उनको स्टारडम माथी प्रश्न उब्जिएको छ । के सृष्टि माथि लगानी गर्नु निर्माताका लागि सहज छ ?

त्यस्तै हाल छ, यता आर्यनको । पहिलो चलचित्र प्रदर्शनताका बलिउड एक्सन स्टार टाइगर श्रोफसँग दाँजीएका यी अभिनेता टाइगरको जस्तो सफलता पाउँनबाट चुकिरहेका छन् । पहिलो चलचित्रबाट पाएको हाइप अहिले आर्यनका लागि सम्झनाको सारंगी भैसकेको छ । नेपाली चलचित्रका लागि उनि ‘टुटेको तारा’ भएका छन् । जो सुरुवातमा सबैको नजरमा पर्छ र एकैछिनमा विलिन हुन्छ । ‘बटरफ्लाई’ आर्यनको छोटो करिअर विर्सनलायक चलचित्र थियो । जहाँसम्म कि बक्स अफिसको ‘डिजास्टर’ चलचित्रलाई लगभग दर्शकले बिर्सिसकेका छन् ।

अब कुरा गरौँ यी दुईको तेस्रो चलचित्र ‘बाँध मायाले’ को बारेमा । ट्रेलर र गीत हेर्दा आर्यन र सृष्टिका अघिल्ला चलचित्र भन्दा धेरै भिन्न लाग्दैन यो चलचित्र । दुवैको उही फ्लप अवतार र हुलिया । चलचित्र प्रदर्शनको लागि केहि दिन टाढा रहँदा कसैले पनि सफलताको बारेमा कल्पना गर्न सक्दैनन्, सिवाय टिमको सपना बाहेक ।

‘बाँध मायाले’ का लागि बक्स अफिस भिडन्त ‘इन्टु मिन्टू लण्डन मा’ सँग छ । यी दुईको चर्चालाई हेर्दा १० मा ३ र ८ को भिन्नता छ । पक्कै पनि ३ अंकमा रहेको ‘बाँध माया’लाई ८ अंक उछिन्न त्यति सहज हुने छैन । त्यसैले आर्यन र सृष्टिका लागि तेस्रो चलचित्र चलाउन फलामको चिउरा चपाए सरह हुनेछ । त्यसैले अहिलेलाई यी दुईको लागि असफलता बेगमा आर्यन र सृष्टि भन्दा फरक नपर्ला ।