झरनाको ‘ए मेरो हजुर ३’: अनमोलपछि भित्रिए सलोन, अर्पण र रबिन्द्र


काठमाडौं । झरना थापाको निर्देशनमा बन्ने दोस्रो चलचित्र ‘ए मेरो हजुर ३’मा एकपछि अर्को कलाकारहरु थपिएका छन् ।

अभिनेता अनमोल केसी जोडिएसँगै चर्चामा रहेको यो चलचित्रले एकपछि अर्को कलाकार थपेको हो । शुक्रबार मात्रै अभिनेता सलोन बस्नेत चलचित्रका लागि पक्का भएका थिए । त्यसको भोलिपल्टै चलचित्रमा अन्य दुई कलाकारको आगमन भएको छ।

चलचित्रका लागि अभिनेताद्वय अर्पण थापा र रबिन्द्र झासँग सम्झौता भएको निर्देशक झरना थापाले बताईन्। अब ‘ए मेरो हजुर ३’मा अनमोल केसी, सुहानी थापा, सलोन बस्नेत, अर्पण थापा र रवीन्द्र झाको मुख्य भूमिका रहनेछ।
चलचित्रको केही दिन अगाडि पोखरामा मुहूर्त भएको थियो । संगै अनमोल र सुहानाको केही दृश्य पनि खिचिएको थियो । कलाकार फाइनल भएसँगै असोज ५ गतेबाट चलचित्र छायांकनमा जाने भएको छ।

सुनिल कुमार थापाको निर्माणमा बन्ने चलचित्रको प्रदर्शन मिति चैत २९ गतेलाई तोकिएको छ । यस चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् ।

यसअघि झरनाको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । जुन चलचित्रमा अभिनेता सलिनमान बनियाँ र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा थिए ।