मदन कृष्ण श्रेष्ठ


जन्म मिति -२००७  बैसाख ३० गते
जन्म स्थान -काठमाडौँ ,नेपाल
पिता-रामकृष्णलाल श्रेष्ठ
माता- लक्ष्मी देवी श्रेष्ठ
                      मदनकृष्णको बाल्यकाल काठमाडौं जितपुरफेदीमा बित्यो। कहिलेकाहीं खसिखेल पनि पुग्थे। त्यहाँ उनका थुप्रै्र साथीहरू छन्। रञ्जना हल बनाउँदा इँटाको मोटर बनाएर खेलेको उनको सम्झना छ। उनको स्कुले जीवन अलि डामाडोल नै रह्यो। १ कक्षा विश्वज्योति सिनेमा भवनअगाडिको स्कुलमा पढे। २, ३, ४ जितपुरफेदीमा पढे। ५ कक्षामा कन्या विद्यामन्दिरमा, ६ कक्षा दरबार हाइस्कुल, ७ पद्मोदय, ८ शान्ति विद्यागृह, ९ जुद्धोदय, १० त्रिभुवन दरबार स्कुल, टेस्ट पास भए शान्ति निकुञ्जबाट। बसाइ सरेकाले त्यस्तो भएको उनको अनुभव छ। उनी भन्छन्– म पढ्नमा कमजोर थिइनँ। तर, बलियो हुन पनि पाइनँ। एसएलसीपछि महेन्द्ररत्न पब्लिक कमर्स कलेजमा आइकम गरे। बीकमको प्राइभेट जाँच दिए। अभिनयमा लागेकाले पढाइ अधुरै रह्यो।

सानैदेखि उनमा कलाप्रति अभिरुचि थियो। रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरे २०२३ सालमा। तर उनले त्यसअघि नै स्कुले कार्यक्रममा गाउँथे। भजन गाउँथे। हार्मोनियम र तबेला बजाउँथे। पहिलोचोटि रंगमञ्चमा उत्रेको चाहिं २०१५ सालमा हो। २०२६ सालमा नेवारी गीत प्रतियोगितामा पहिलो भए। द राइजिङ नेपाल र गोरखापत्रमा त्यतिबेला नाम छापिएको समाचारको कटिङ अझै उनीसित छ। २०२८ सालमा मुनास्वः (आवाजको जमघट) संस्था स्थापना भयो। त्यहाँ हास्यव्यंग्य कार्यक्रम हुन्थ्यो। कार्यक्रमको अन्त्यमा उनी गाउँथे। उनी त्यो संस्थाको सचिव थिए। त्यतिबेला क्लबहरू त्यति थिएनन्। रक्तदान, खेल प्रतियोगिता र सरसफाइ कार्यक्रम भइरहन्थ्यो। क्लबहरू बढेपछि त्यसलाई नियन्त्रण गर्न पद्मरत्न तुलाधरको अध्यक्षतामा मंका खलः स्थापना भएको हो।
विलक्षण प्रतिभाका धनी मदनकृष्ण श्रेष्ठले १६ वर्षको उमेरमा जागीर सुरु गरेका थिए कर्मचारी सञ्चय कोषमा। अहिले पनि उनलाई गाउँमा जाँदा गुरू, माडसाप र दाइ भन्छन्। यसरी आफ्नो सम्झेर व्यवहार गर्दा उनलाई औधी खुसी लाग्छ। पिकनिक भएको थियो एकपटक सञ्चय कोषमा। पाँच सय जनाको। गीत गाउनुअघि उनले हँसाए। त्यसैलाई निरन्तरता दिए। उनी सञ्चय कोषको जागीर छाडेर कृषि सूचना शाखा (अहिले कृषि सञ्चार महाशाखा)मा जागीर खान थाले। बीबीसीको तालीम पनि लिए। त्यो तालीम उनका निम्ति उपलब्धिमूलक रह्यो। नातिकाजी, शिवशंकर, पाण्डव सुनुवार, हिरण्य भोजपुरे, आनन्द पुरी, भीमबहादुर थापाहरूले सँगै तालीम लिएका थिए। उनहरूले रसरंग कार्यक्रम गरे २०३५ सालमा। ५/६ वर्ष चल्यो त्यो कार्यक्रम। मिरिक सहरमा कार्यक्रम गर्ने सिलसिलामा पुग्दा श्रोताले तपाईं मदनकृष्ण हो भनेर सोध्दा उनी अचम्मित भए। एकेडेमीमा जागीरदारको गीत बनाएका थिए उनले–
जागीरदारलाई झन् झन् बाँच्नै कठिन भो
गरीबीको खम्बा ढाल्न कठिन भो।
हास्यव्यंग्य कार्यक्रमका सिलसिलामा हरिवंश आचार्यसित भेट भयो। समय बचत गर्नका लागि २०३६ सालमा राष्ट्र बैंकमा उनीहरूले मिलेर कार्यक्रम देखाए। गाईजात्रा कार्यक्रम पनि देखाए। त्यो पनि सुपर हिट भयो। यमलोक भन्ने कार्यक्रम देखाउँदा राजा प्रमुख अतिथि र बीपी कोइराला, मनमोहन अधिकारीहरू अतिथि थिए। ऐतिहासिक दर्शकहरू भएको कार्यक्रम थियो त्यो। बीपीले गरेको प्रशंसा उनी अझै सम्झन्छन्। त्यसपछि उनीहरूले टेलिफिल्महरू बनाए। त्यसपछि देशभरि सामाजिक कार्य गर्ने सकारात्मक जमातसित प्रत्यक्ष/अप्रत्यक्ष नजीक हुन थाले। पहिले पहिले पैसा लिएर काम गरिंदैनथ्यो। उनी भन्छन्– हामी त पैसाको कुरै गर्दैनथ्यौं। नारायणी कला मन्दिरको पर्दा मदनकृष्ण र हरिवंशले नै राखिदिएका हुन्। गोली हानिएका पत्रकार पदम ठकुराठीको उपचारका निम्ति उनीहरूले १० हजार रूपैयाँ दिएका थिए। जनआन्दोलन–२ सम्म त्यसको क्रमले निरन्तरता पायो। मोडल अस्पतालमा उपचार गराउन मदनकृष्ण र हरिवंश अगुवाइमा स्थापना भएको उपचार कोषमा दुई करोड ५५ लाख रूपैयाँ उठेको थियो। उनी भन्छन्– राजनीतिक प्रक्रिया सजिलो रहेनछ। सबै जना मिल्यो भने शान्ति हुन्छ। तर, मिल्न गाह्रो रहेछ।

कुनै बेला मदनकृष्ण श्रेष्ठ पेन्टिङ गर्थे। महाबौद्धको भित्तामा आफूले बनाएका कार्टुन टाँस्थे। मान्छेहरू झुत्तिंदा उनलाई औधी रमाइलो लाग्थ्यो। उनले ‘सुख दुख’, ‘वासुदेव’ र के घर के डेरा लगायत फिल्ममा खेले। हजारवटा जति टेलिफिल्ममा खेले। विज्ञापन नाटक ३७६ पटकसम्म गनेर प्रहसन भयो। त्यसपछि कति पटक प्रकाशन भयो उनले गनेका छैनन्। पञ्चायतको श्राद्ध, अभिभावक, पिकनिक, गाउँखाने कथा–२, अभिनन्दन, लालपुर्जालगायत थुप्रै कार्यक्रम गरे उनीहरूले। जनचेतना जगाउने काममा उनीहरूको अभूतपूर्व योगदान छ। प्रजातान्त्रिक आन्दोलनमा मदनकृष्ण र हरिवंशको अतुलनीय योगदान रहेको छ।

 पुरस्कार तथा सम्मान 1. Gorkha Dakshin Bahu – His Majesty of Government
2. Jagadamba Shree Award 2047 (1991) – Madan Puraskar Guthi
3. Jaycess Youth Award 1988 – Nepal Jaycess
4. Rastriya Yuba Gaurav Samman 2054 – Antarrastriya Manch Nepal
5. Best Comedian 2043 (1986) – Lions Club Bishal Bazar
6. Best Actor 2054 (1992) – Abhiyan
7. Best Director 2048 (1992) – Tele Film Award
8. Best Script Writer
9. Best Dialogue 2047 (1991) – Nepal Video Film Organization
10. Best Singer 2026 (1969) – Prakash Pustakalaya, Jochhen, Kathmandu
11. Abhiyan Shree Award 2057 (2000)
12. Nepal Samman 2057 Nepal Felicitation 2000 – Everest Foundation Nepal
13. Best Character Artist Award 2056 (2056) – Nepal Motion Picture Association
14. Outstanding Contribution Award 2058 (1001) – Nepal Motion Picture Award
15. Millennium Khyali Juju Award 2057 (2000)
16. Hari Tara Award 2052 (1996) – Nepal Film Artist Association
17. Best Dialogue – Nepal Film Artist Association
18. Best Story Writer – Abhiyan
19. Appreciation Award 1999 – The Everest Magazine, Toronto, Canada
20. Lux Movie Award 2003 – The Best Character Artist